काठमाडौँ । काठमाडौँको किष्ट प्रत्यारोपण केन्द्रले २०० भन्दा बढी अंगदातालाई सम्मान गरेको छ।
किष्ट शिक्षण अस्पतालअन्तर्गतको उक्त केन्द्रले मानव जीवन बचाउन महत्वपूर्ण योगदान पुर्याउने अंगदाताप्रति कृतज्ञता व्यक्त गर्ने उद्देश्यले “अंगदाता सम्मान कार्यक्रम” आयोजना गरेको हो। कार्यक्रमको उद्घाटन ललितपुर महानगरपालिकाका नगर प्रमुख तथा उपत्यका मेयर फोरमका अध्यक्ष चिरीबाबु महर्जनले गरेका थिए। कार्यक्रममा विभिन्न स्थानीय तहका प्रमुख, सरकारी उच्च अधिकारी, स्वास्थ्यकर्मी, प्रत्यारोपण विशेषज्ञ, बिरामी तथा अंगदाताहरूको सहभागिता रहेको थियो।
अस्पतालका अनुसार हालसम्म २०२ जनामा मिर्गौला र १५ जनामा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिएको छ। किष्ट शिक्षण अस्पतालले यसलाई “दोस्रो जीवन” प्रदान गर्ने महत्वपूर्ण उपलब्धि भन्दै आएको छ। अस्पतालले अन्तर्राष्ट्रियस्तरको सेवा सुनिश्चित गर्न एनएबीएच प्रमाणपत्र पनि प्राप्त गरेको जनाएको छ। साथै, नेपालमै पहिलो पटक डुअल ट्रान्सप्लान्ट शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको तथा ल्यापारोस्कोपिक प्रविधिबाट समेत प्रत्यारोपण गरिँदै आएको अस्पतालले जनाएको छ। कार्यक्रममा अस्पतालले अंगदानमार्फत धेरै बिरामीको जीवन बचाउन सम्भव भएको उल्लेख गर्दै यसलाई मानवताको उच्च उदाहरणका रूपमा प्रस्तुत गरेको छ।