काठमाडौँ । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको काम आगामी असारसम्म पूरा नहुने भएको छ।
पृथ्वीराजमार्गअन्तर्गत पर्ने यो सडक स्तरोन्नति परियोजनाको पश्चिम खण्ड तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८.७१ किलोमिटर निर्माण पाँच वर्षअघि सुरु भए पनि अझै सम्पन्न हुन सकेको छैन। आयोजनाको म्याद गत पुसमा तेस्रो पटक थप गर्दै आगामी असार १५ सम्म पुर्याइएको थियो। तर हालको प्रगतिअनुसार सो समयमा काम पूरा हुने सम्भावना कमजोर देखिएको छ।
निर्माणमा पेट्रोलियम पदार्थको अभाव, निर्माण सामग्रीको मूल्यवृद्धि र लगातारको वर्षाले बाधा पुर्याएको आयोजनाले जनाएको छ। योजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार हालसम्म ७८ प्रतिशत भौतिक प्रगति भएको छ। केही भागमा पहिलो र दोस्रो तहको कालोपत्रे सम्पन्न भए पनि अझै सर्भिस लेन, सडक मार्किङ र सुरक्षा संरचनाको काम बाँकी छ। सूचना अधिकारी अनन्त बरालका अनुसार अहिले सडकका विभिन्न भागमा थर्मोप्लास्टिक पेन्ट, सर्भिस लेन निर्माण र रोड सेफ्टी ब्यारियर जडानको काम भइरहेको छ। एसियाली विकास बैंकको लगानीमा सञ्चालित यस आयोजनाको ठेक्का चिनियाँ कम्पनीसँग करिब ७ अर्ब ४० करोड रुपैयाँमा सम्झौता भएको हो।