काठमाडौँ । मुस्ताङमा वन्यजन्तु संरक्षणका क्रममा अवैध पासोहरू फेला पारेर नष्ट गरिएको छ।
मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गतको संवेदनशील वन क्षेत्रमा वन्यजन्तुको अवैध सिकार रोक्ने उद्देश्यले विशेष गस्ती सञ्चालन गरिएको हो। इलाका संरक्षण कार्यालय जोमसोम र संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त आयोजनामा गरिएको उक्त गस्तीमा स्थानीय समुदाय, संरक्षणकर्मी तथा जिल्ला प्रहरी कार्यालय मुस्ताङका सुरक्षाकर्मीको सहभागिता रहेको थियो। गस्तीका क्रममा वन्यजन्तु आवतजावत गर्ने मुख्य बाटा र झाडीहरूमा लुकाइएका पासोहरू फेला पारिएको थियो।
ती पासोहरू मुख्य रूपमा संकटापन्न कस्तुरी मृगलाई लक्षित गरी थापिएको बताइएको छ। सबै १०५ थान अवैध पासोहरू टोलीले घटनास्थलमै संकलन गरी नष्ट गरेको छ। संरक्षणकर्मीहरूले आगामी दिनमा पनि यस्ता गतिविधि रोक्न नियमित गस्ती र निगरानीलाई थप प्रभावकारी बनाइने बताएका छन्। साथै, शङ्कास्पद क्षेत्रमा ट्र्यापिङ क्यामेरा जडान गरी अवैध सिकार नियन्त्रण गर्ने तयारी पनि गरिएको छ।