काठमाडौँ । मुगुका किसानहरूले सुधारिएको मौरी पालनबाट राम्रो आम्दानी गर्न थालेपछि उत्साहित भएका छन्।
मुगुको छाँयानाथ रारा नगरपालिका–६ लिउडी गाउँका ४५ वर्षीय रुपबहादुर सेजुवालले बुबाबाजेले गर्दै आएको मौरी पालन व्यवसायलाई निरन्तरता दिँदै आधुनिक रूपमा विस्तार गरेका छन्। सरकारी निकायबाट मौरी पालनसम्बन्धी तालिम र आर्थिक सहयोग पाएपछि उनले परम्परागत मुडे घारको सट्टा सुधारिएको घार प्रयोग गर्न थालेका हुन्। करिब ७० वटा घारमा मौरी पालन गर्दै आएका सेजुवालले कृषि विकास कार्यालय मुगुबाट प्राविधिक सहयोग र अनुदान पाएपछि उत्पादन र आम्दानी दुवै बढेको बताएका छन्। उनले वार्षिक झण्डै तीन लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बताए।
सुधारिएको घार निर्माणका लागि कृषि विकास कार्यालयले २ लाख ५० हजार रुपैयाँ र किसानको तर्फबाट २ लाख ५० हजार रुपैयाँ लगानी गरिएको थियो। हाल ती घारमा १० भन्दा बढी मौरी समूह सक्रिय रहेको बताइएको छ। सेजुवालले विदेश जानुभन्दा आफ्नै गाउँमा कृषि व्यवसाय गर्दा राम्रो आम्दानी हुने अनुभव भएको बताएका छन्। सरकारले मौरी बीमा कार्यक्रम पनि सञ्चालन गरेकाले किसानलाई थप राहत पुगेको उनले बताए। यसैबीच, अन्य कृषकहरूले अझै उपकरण र प्राविधिक सेवाको अभाव रहेको गुनासो गरेका छन्। कृषि विकास कार्यालय मुगुका अनुसार जिल्लामा मौरी पालनका लागि वार्षिक ५० प्रतिशत अनुदानमा कार्यक्रम सञ्चालन भइरहेको छ र जिल्लामा करोडभन्दा बढीको मह उत्पादन कारोबार भइरहेको छ।