काठमाडौँ । सर्लाहीको कौडेना गाउँपालिका–१ लक्ष्मीपुरमा सर्पको टोकाइबाट ३ वर्षीय बालकको ज्यान गएको छ । बालकको मृत्यु भएपछि आफन्तहरूले उपचारमा चिकित्सकको लापरबाही भएको आरोप लगाउँदै अस्पतालमा विरोध प्रदर्शन गरेका छन्।
प्रहरीका अनुसार स्थानीय रवीन्द्र गिरीका छोरा आदित्य गिरी बुधबार साँझ घरको कौसीमा खेलिरहेका बेला सर्पले टोकेका थिए। घाइते बालकलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको थियो। उपचारकै क्रममा साँझ करिब ७ः५० बजे चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए। त्यसपछि आक्रोशित आफन्तजन अस्पताल पुगेर उपचारमा ढिलासुस्ती र लापरबाही भएको भन्दै होहल्ला गरेका थिए। स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक रुपेश अधिकारीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीको सम्झाइबुझाइपछि अवस्था सामान्य बनेको जनाइएको छ। प्रहरीका अनुसार राति करिब ९ः५० बजे आवश्यक कानुनी प्रक्रिया पूरा गरी बालकको शव परिवारलाई बुझाइएको थियो।