काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा वैदेशिक रोजगारीको सिलसिलामा एक हजार ८६ नेपालीको मृत्यु भएको छ ।
अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको ‘आर्थिक सर्वेक्षण २०८२/८३’मा सो तथ्यांक समेटिएको छ ।
“आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म वैदेशिक रोजगारीको सिलसिलामा एक हजार ८६ नेपाली कामदारको मृत्यु भएको छ ।
सोही अवधिमा मृतकका परिवारका सदस्य तथा नजिकका हकवालाले क्षतिपूर्तिबापत ६३ करोड २२ लाख रुपैयाँ प्राप्त गरेका छन्,” आर्थिक सर्वेक्षणमा भनिएको छ ।
चालु आर्थिक वर्षको फागुनसम्म वैदेशिक रोजगारीको क्रममा शारीरिक रुपमा अंगभंग तथा बिरामी भएका ६०१ कामदारले आर्थिक सहायता प्राप्त गरेका छन् । वैदेशिक रोजगारीमा मृत्यु भएका नेपाली श्रमिकका तीन हजार ४८७ जना सन्ततिले शिक्षामा छात्रवृत्ति सुविधा लिएका छन् ।
आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीको सिलसिलामा एक हजार ५८३ जना नेपालीले ज्यान गुमाएका थिए ।