काठमाडौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको पदबहाली पश्चात नेपाल प्रहरीको सांगठानिक सुदृढीकरण र क्षमता अभिवृद्धिमा उल्लेखनीय सुधार देखिएको छ। गत ६ महिनाको अवधिमा अपराध अनुसन्धान, कानुनी कारबाही, ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, विपद् व्यवस्थापन तथा सुरक्षा परिचालनका क्षेत्रमा प्रहरीले कयौँ सफलता हासिल गरेको जनाएको छ। यस अवधिमा प्रहरीले शान्ति सुरक्षा कायम राख्नुका साथै विभिन्न आपराधिक गतिविधिमा संलग्नहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने कार्यलाई तीव्रता दिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
विशेष गरी लागूऔषध ओसारपसार र आर्थिक अपराध विरुद्ध प्रहरीले आक्रामक कारबाही चलाएको छ। ६ महिनाको अवधमिा देशभरबाट ४ हजार ६ सय ६६ जना लागूऔषध कारोबारी पक्राउ परेका छन् भने २२ हजार ६ सय २० किलो गाँजा, ४ सय ४३ किलो चरेस, १९ किलो खैरो हेरोइन र लाखौँको संख्यामा नाइट्राभेट, डाइजेपाम तथा ट्रामा जस्ता प्रतिबन्धित औषधिहरू बरामद गरिएको जनाएको छ। यसैगरी ११ हजार १ सय ९ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी ४ हजार ४ सय ७० वर्ष कैद सजाय कार्यान्वयनमा ल्याइएको छ भने १ अर्ब १० करोड ३८ लाख ९४ हजारभन्दा बढी जरिवाना असुल गरिएको छ। सम्पत्ति शुद्धीकरण मुद्दामा ३ अर्ब ११ करोड ५२ लाख रुपैयाँभन्दा बढी बिगो दाबीसहित १ सय ३ जना विरुद्ध कारबाही चलाइएको छ भने सुन, चाँदी र भन्सार छली जस्ता राजस्व चुहावटमा संलग्न ७ सय ५८ जना पक्राउ परेका छन्।
यसका साथै अवैध हातहतियार, साइबर अपराध र सामाजिक सुरक्षाका क्षेत्रमा पनि प्रहरीको सक्रियता उच्च देखिएको छ। ६ सय १५ थान अवैध हातहतियार र विष्फोटक पदार्थसहित १ सय २७ जना पक्राउ परेका छन् भने साइबर अपराधका ५८ वटा मुद्दा दर्ता गरी डिजिटल ठगीमा परेका पीडितहरूको ८ करोड ८५ लाख ३१ हजार रुपैयाँभन्दा बढी रकम फिर्ता गराइएको छ। मानव बेचबिखनमा संलग्न ४१ जनालाई कानुनी दायरामा ल्याइनुका साथै ज्यान सम्बन्धी, चोरी र आर्थिक अपराधसहित देशभर कुल ३० हजार २ सय ७६ वटा मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाइएको छ।
सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनमा नेपाल प्रहरीले प्रविधिको उच्च प्रयोग गरिरहेको छ। ट्राफिक नियम उल्लंघन गर्ने ५ लाख ६१ हजार १ सय ३९ सवारी साधनलाई कारबाही गरी ४९ करोड ९१ लाख ४ हजार ६ सय ६३ रूपैयाँ राजस्व संकलन गरिएको छ। नागरिकको सुविधाका लागि देशव्यापी रूपमा (डिजिटल चिट) लागू गरिएको छ भने देशभरका ७७ वटै जिल्लाका २ सय २८ वटा युनिटमा ट्राफिक नियम उल्लंघन अभिलेख प्रणाली र विभिन्न राजमार्ग तथा सिमानाकामा ट्राफिक कम्युनिकेसन एप सञ्चालनमा ल्याइएको प्रहरीले जानकारी दिएको छ। सडक सुरक्षाका लागि सञ्चालित ८२ हजार २ सय १७ वटा जनचेतनामूलक कार्यक्रमबाट ४५ लाख ५६ हजारभन्दा बढी नागरिक लाभान्वित भएका छन्।
मानवीय सेवा, विपद् व्यवस्थापन र शान्ति सुरक्षा परिचालनमा पनि प्रहरीको भूमिका सराहनीय रहेको छ। ६ महिनाको अवधिमा देशभर भएका ४ हजार २ सय ६ वटा विपद्का घटनाहरूमा २३ हजार ४ सय ८४ जना प्रहरी जनशक्ति परिचालन गरी २ सय १३ जना नागरिकहरूको सकुशल उद्धार गरिएको छ। विभिन्न बन्द, हडताल र विरोध प्रदर्शनहरूमा ५९ हजार ६२ जना प्रहरी परिचालन गरी भरपर्दो सुरक्षा व्यवस्थापन मिलाइएको छ। यसका साथै काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न स्थानमा रहेका सुकुम्बासी एवं भूमिहीन नागरिकहरूको व्यवस्थापन कार्यमा समेत नेपाल प्रहरीले आवश्यक सहजीकरण गरिरहेको छ।