काठमाडौंं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा आएर जवाफ दिनुपर्ने माग जायज भएको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि विपक्षीले प्रधामन्त्रीको जवाफ माग्दै सदन अवरोध गरेपछि उनले यस्तो बताएका हुन् ।
“केही दिनदेखि एउटै विषयमा प्रवेश गरिरहेका छौँ । त्यसमा संवाद गरिरहेका छौँ । सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा उपस्थित हुनुपर्यो र उहाँले सार्वभौम सांसदले उठाउने प्रश्नको जवाफ दिनुपर्यो । आफ्ना विषय राखिदिनुपर्यो । जनतालाई सम्बोधन गरिदिनुपर्यो भन्ने विषय अत्यन्त जायज छ,” उनले भने ।
सभामुख अर्यालले प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग संविधानतः र नियमावली, कानुनसंवत भएको बताए । “जनताको माग पनि त्यही हो,” उनले भने ।
सत्तापक्षका मुख्य सचेतकसँग पनि छलफल भइरहेको उनले बताए । उनले प्रधानमन्त्रीसँग पनि संवादमा रहेको सुनाए । “सम्माननीय प्रधानमन्त्रीज्यू आउने तयारी भइरहेको छ । मैले पहिले पनि भनेको थिए । सदनमा भइरहेको विषयमा उहाँ जानकार हुनुहुन्छ,” उनले भने ।
उनले छिट्टै प्रधानमन्त्रीले सदनमा उभिएर जिज्ञासा मेटाउने बताए ।