काठमाडौँ । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले विगतमा महिलाले भोग्नुपरेका विभेद र पीडाप्रति राज्यले औपचारिक रूपमा माफी माग्नुपर्ने माग गरेकी छन्।
प्रतिनिधिसभाको हालैको बैठकमा बोल्दै उनले सरकारले दलित समुदायसँग माफी मागेर सकारात्मक सुरुवात गरेको उल्लेख गर्दै अब महिलासँग पनि क्षमायाचना गर्नुपर्ने बताइन्। सांसद गुरुङका अनुसार नेपाली इतिहासमा महिलाले सती प्रथा, बोक्सीको आरोप, छाउपडीजस्ता कुप्रथा तथा नागरिकता र सम्पत्तिमाथिको अधिकारमा लामो समयदेखि विभेद भोग्दै आएका छन्।
उनले महिलालाई सधैं दोस्रो दर्जाको नागरिकका रूपमा व्यवहार गरिएको भन्दै राज्यले औपचारिक रूपमा माफी माग्नुपर्ने धारणा राखिन्। गुरुङले राज्यका प्रमुख निकायहरूमा महिलाको न्यून सहभागिताप्रति पनि चिन्ता व्यक्त गरिन्। उनका अनुसार उच्च पदहरूमा पुरुषको मात्र वर्चस्व देखिनु समानताको दृष्टिले गम्भीर विषय हो। उनले माफी केवल शब्दमा सीमित नभई महिलाको अर्थपूर्ण प्रतिनिधित्व, आर्थिक आत्मनिर्भरता र समान अवसर सुनिश्चित गर्ने कदमसँग जोडिनुपर्नेमा जोड दिइन्।