काठमाडौँ । मकालु हिमाल आरोहणका क्रममा बेपत्ता भएका एक जना पथप्रदर्शक (गाइड) मृत अवस्थामा फेला परेका छन्। मकालु गाउँपालिका–१ वालुङका ४० वर्षीय फुर्वा वाङदेल शेर्पा मकालु हिमाल आरोहण गरेर फर्किने क्रममा लडेर बेपत्ता भएका थिए।
उनको शव मकालु हाइ क्याम्प क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ। शेर्पा भारतीय र इरानी पर्यटकसहितको टोलीका गाइडका रूपमा मकालु हिमाल आरोहणमा गएका थिए। आरोहण पूरा गरी क्याम्प–४ बाट क्याम्प–३ फर्किने क्रममा उनी लडेपछि सम्पर्कविहीन भएका थिए। घटनापछि खोज तथा उद्धार कार्य सञ्चालन गरिएको भए पनि तत्काल फेला पार्न सकिएको थिएन। लामो खोजीपछि उनको शव हाइ क्याम्प क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ। उनसँगै बेपत्ता भएका इरानी नागरिक अझै फेला परेका छैनन् भने भारतीय नागरिक भने सकुशल रहेको बताइएको छ। प्रहरीले शव हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको जनाएको छ।