काठमडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद आशिका तामाङले वैदेशिक रोजगारीका क्रममा कम्बोडियामा निधन भएका नेपाली नागरिकको शव तत्काल स्वदेश ल्याउन सरकारसँग माग गरेकी छन्।
मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले धादिङको धुनीबेसी नगरपालिका–९ का सन्तोष राईको गत वैशाख २२ गते कम्बोडियामा निधन भएको जानकारी दिइन्। मृत्यु भएको २१ दिन बितिसक्दा पनि शव नेपाल ल्याउन नसकिएको भन्दै उनले सरकारको गम्भीर ध्यानाकर्षण गराइन्। सांसद तामाङले परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायलाई आवश्यक प्रक्रिया छिटो पूरा गरी मृतकको पार्थिव शरीर स्वदेश ल्याई परिवारलाई बुझाउन आग्रह गरिन्। उनले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने नेपालीको शव ल्याउन ढिलाइ हुँदा पीडित परिवारले थप पीडा भोग्नुपरेको भन्दै सरकारलाई संवेदनशील हुन आग्रह गरेकी छन्।