काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले संविधान संशोधनसम्बन्धी बहसलाई केवल सरकारी कार्यदलमा मात्र सीमित राख्न नहुने बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले संविधान संशोधन जस्तो संवेदनशील विषयमा व्यापक र समावेशी छलफल आवश्यक रहेको बताए। सांसद केसीले संशोधन प्रक्रियालाई निष्पक्ष र सर्वस्वीकार्य बनाउन पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधानविद्, राजनीतिक दल, प्रशासनिक विज्ञ तथा नागरिक समाजका प्रतिनिधि समावेश गरी शक्तिशाली सर्वपक्षीय आयोग गठन गर्नुपर्ने प्रस्ताव गरे। उनले वर्तमान राजनीतिक जटिलता र सामाजिक ध्रुवीकरणलाई ध्यानमा राख्दै सरकार–केन्द्रित मात्र बहसले समाधान नदिने उल्लेख गरे। साथै, संविधान संशोधनलाई सफल बनाउन ‘गोलमेच सम्मेलन’ आवश्यक रहेको उनको भनाइ छ।