बुटवल । कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–४, बरईपुरस्थित तौलिहवा–बहादुरगन्ज हुलाकी सडकखण्डमा मंगलबार (जेठ १२) बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका हुन । काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि उद्धार गरी उपचारका निम्ति घाइतेलाई जिल्ला अस्पताल तौलिहवा पठाइएको थियो । घाइतेमध्ये ३५ जनालाई थप उपचारका निम्ति भैरहवास्थित विभिन्न अस्पतालमा ‘रिफर’ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुईजनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेमा बर्दियाकी ४५ वर्षीया पवित्रा देवकोटा र सुर्खेतका ३० वर्षीय प्रकाश विक छन् ।
बसका चालक सुर्खेतका ३० वर्षीय डिल्लीप्रसाद दाहाल, सहचालक राजन बुढासहित अधिकांश यात्रुको शरीरका विभिन्न भागमा चोट लागेको छ । दुर्घटनामा परी सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, बाँके, झापा, काठमाडौं, ललितपुर, ओखलढुंगालगायत जिल्लाका यात्रु घाइते भएका छन् । बस दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।