काठमडौँ । नेपालकी ट्रान्स महिला निलम पौडेल सगरमाथा सफलतापूर्वक आरोहण गरेपछि काठमाडौं फर्किएकी छिन्। गत शनिबार उनले सगरमाथा आरोहण पूरा गर्दै इतिहास रचेकी हुन्।
मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई ब्लु डाइमन्ड सोसाइटीकी अध्यक्ष पिंकी गुरुङलगायतले स्वागत गरेका थिए। पत्रकारसँग कुरा गर्दै पौडेलले सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिलाको रूपमा आफ्नो पहिचान बनाउन पाउँदा खुसी लागेको बताइन्। उनले यो उपलब्धिले समुदायका अन्य सदस्यहरूलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरिन्। उनका अनुसार यो आरोहण वर्षौँदेखि भोगिँदै आएको सामाजिक विभेद, अस्वीकृति र पहिचानको संघर्षमाथिको विजयको प्रतीक हो।