काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेश कुमार सिंहले उखु किसानको भुक्तानी र रासायनिक मलको अभावबारे सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले चिनी उद्योगहरूले अझै उखु किसानलाई भुक्तानी दिन नसकेको बताए। साथै सरकारले उपलब्ध गराउने अनुदान रकम पनि किसानले समयमै नपाएको उनको भनाइ थियो। सांसद सिंहले उखु किसानको भुक्तानी तत्काल सुनिश्चित गर्न सरकारसँग माग गर्दै रोपाइँको सिजन नजिकिँदै गर्दा मलको अभाव गम्भीर समस्या बन्न सक्ने चेतावनी दिए। उनका अनुसार अबको १० देखि १५ दिनभित्र रोपाइँ सुरु हुने भएकाले किसानलाई आवश्यक मल समयमै उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको छ। उनले हालसम्म पर्याप्त मल आपूर्ति हुन नसकेको भन्दै किसानहरू समस्यामा परेको उल्लेख गरे।