काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सामाजिक अभियन्ता महेश नेपालीले पार्टी विचारधारागत रूपमा कहिल्यै नफुट्ने बताएका छन्। उनले कांग्रेसभित्र देखिने समानान्तर गतिविधिहरू असामान्य नभएको पनि स्पष्ट पारे।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले विगतका नेतृत्वको कमजोरीका कारण विशेष महाधिवेशनको अवस्था आएको बताए। नेतृत्वले समयमै सही निर्णय लिन नसक्दा परिस्थिति जटिल बनेको उनको भनाइ छ। नेपालीका अनुसार नेतृत्वले दूरदर्शिता गुमाउँदा पार्टीभित्र असन्तोष बढेको हो। उनले विशेष महाधिवेशनलाई बेवास्ता गर्नु पनि गल्ती भएको टिप्पणी गरे।
उनले जेन–जी आन्दोलनले कांग्रेसलाई राजनीतिक रूपमा असर पारेको उल्लेख गर्दै हरेक परिवर्तनमा कांग्रेसको भूमिका रहेको दाबी गरे। साथै, संकटका बेला पार्टी एकजुट हुने इतिहास रहेको पनि उनले स्मरण गराए। कांग्रेसभित्र विगतमा पनि समानान्तर गतिविधि हुने गरेको उल्लेख गर्दै उनले अहिलेको अवस्था असामान्य नभएको बताए। उनका अनुसार संकटका बेला पार्टी फेरि एकताबद्ध भएर अघि बढ्नेछ।