काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका केही क्षेत्रमा बर्ड फ्लु संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । नगरपालिकाले जारी गरेको सूचनाअनुसार वडा नं. २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ देखिएपछि संक्रमण नियन्त्रणका लागि ती क्षेत्रमा रहेका कुखुरा, हाँस, बट्टाई लगायतका पन्छी तथा अण्डा र दाना नष्ट गर्ने काम तीव्र रूपमा अघि बढाइएको छ । साथै, प्रभावित क्षेत्रलाई निसंक्रमण गर्ने कार्य पनि जारी रहेको जनाइएको छ ।
संक्रमण फैलिन नदिन पन्छी फार्महरूमा अनावश्यक मानिस र सवारीसाधनको प्रवेशमा रोक लगाइएको छ । अत्यावश्यक अवस्थामा प्रवेश गर्नुपरेमा अनिवार्य रूपमा निसंक्रमण प्रक्रिया अपनाउनुपर्ने व्यवस्था गरिएको छ । नगरपालिकाले एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजान, प्रयोग भइसकेका अण्डाका क्रेट पुनः प्रयोग नगर्न तथा फार्मको प्रवेशद्वारमा चुना वा निसंक्रामक औषधि राखिएको फुटबाथ प्रयोग गर्न निर्देशन दिएको छ । त्यसैगरी, खोरभित्र छुट्टै बुट र एप्रोन प्रयोग गर्न, दैनिक रूपमा खोर सफा तथा निसंक्रमण गर्न कृषकहरूलाई आग्रह गरिएको छ ।
कुकुर, बिरालो र मुसाजस्ता जनावरलाई फार्म क्षेत्रमा प्रवेश गर्न नदिन र मरेका पन्छीहरूलाई सुरक्षित रूपमा गाड्न पनि भनिएको छ । नगरपालिकाले पन्छीजन्य वस्तु ओसारपसार गर्दा भेटेरिनरी प्रमाणपत्र अनिवार्य लिनुपर्ने जनाएको छ भने मासु तथा अण्डाजन्य परिकार राम्ररी पकाएर मात्र सेवन गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । यदि कुनै क्षेत्रमा ठूलो संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरुन्तै नजिकको पशु सेवा शाखा वा स्थानीय तहमा जानकारी गराउन पनि आग्रह गरिएको छ ।