काठमाडौं । गोरखा मिडिया नेटवर्क प्रा.लि.का नाममा १५ दिने सार्वजनिक सूचना जारी गरी ग्यालेक्सी फोरके टेलिभिजनसँग सम्बन्धित सामान तत्काल उठाउन आग्रह गरेको छ ।
काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै
काठमाडौं महानगरपालिका वडा नं. ३ निवासी मृगेन्द्रप्रसाद मिश्रसमेत वादी र गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई प्रतिवादी रहेको ‘भाडा असुल उपर गरी घरजग्गा खाली गराइपाऊँ’सम्बन्धी मुद्दामा महानगरको न्यायिक समितिले १४ कात्तिक २०८१ मा वादीको पक्षमा फैसला गरेको थियो ।
निर्णयअनुसार प्रतिवादीबाट घर बहाल रकम तथा बहाल कर असुल गरी घरजग्गा खाली गराउन आदेश दिइएको थियो । त्यसपछि २८ साउन २०८२ मा उच्च अदालत पाटनले दुई महिनाभित्र निर्णय कार्यान्वयन गर्न काठमाडौं महानगरपालिकाका नाममा परमादेश जारी गरेको थियो ।
अदालतको आदेशपछि १४ कात्तिक २०८२ मा महानगरपालिकाको टोली खटिएर निर्णय कार्यान्वयन गरिएको जनाइएको छ । महानगरका अनुसार निर्णय कार्यान्वयन भएको ६ महिना पूरा भएपछि वादी मृगेन्द्र मिश्रले २१ वैशाख २०८३ मा ग्यालेक्सी फोकेमा रहेका सामान लिलाम गरिपाऊँ भन्दै निवेदन दिएका थिए । त्यसै आधारमा महानगरले सार्वजनिक सूचना जारी गरेको हो ।
सूचनामा १५ दिनभित्र बाँकी बहाल रकम बुझाई आफ्नो सरसामान लगी घर खाली गर्न अन्तिम अवसर दिइएको उल्लेख छ । तोकिएको अवधिभित्र सामान नलगिएमा काठमाडौं महानगरपालिका न्यायिक समिति को कार्यविधिअनुसार सामान लिलाम गरिने जनाएको छ ।
