काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को नयाँ अध्यक्ष नियुक्ति आजै टुंगिने सम्भावना देखिएको छ। यसका लागि आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने मन्त्रिपरिषद् बैठकलाई महत्वका साथ हेरिएको छ।
अध्यक्ष छनोटका लागि गठित सिफारिस समितिले ४७ जना आवेदकमध्येबाट चार जनालाई छोटो सूचीमा राखी अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण सम्पन्न गरिसकेको छ। त्यसपछि तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिएको स्रोतले जनाएको छ। प्रतिस्पर्धामा रहेका उम्मेदवारमध्ये नवराज अधिकारी सेबोनका पूर्व कार्यकारी निर्देशक हुन् भने विनयदेव आचार्य हाल बोर्डमै कार्यरत छन्। त्यसैगरी मुकुन्द कुमार क्षेत्री र गोपाल प्रसाद भट्ट पनि प्रतिस्पर्धामा रहेका छन्। गत वैशाख ५ गतेदेखि रिक्त रहेको अध्यक्ष पदमा मन्त्रिपरिषद्ले सिफारिस सूचीभित्रका उम्मेदवारमध्ये एक जनालाई नियुक्त गर्नेछ।नयाँ अध्यक्ष नियुक्तिपछि लामो समयदेखि रोकिएका आइपिओ निष्कासन लगायत पूँजी बजारसँग सम्बन्धित कामले गति लिने अपेक्षा गरिएको छ।