काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। सोमबार जिल्ला सरकारी वकिलको कार्यालय पर्साले प्रसाईंविरुद्ध दुईवटा छुट्टाछुट्टै कसुरमा अदालतमा मुद्दा दर्ता गरेको हो।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख एवं जिल्ला न्यायाधिवक्ता मनोजप्रसाद गुप्ताका अनुसार प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ र राज्यविरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
यसअघि जेठ ८ गते सर्वोच्च अदालतका न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले प्रसाईंलाई हिरासतमा राख्नका लागि थप म्याद नलिन प्रहरीका नाममा आदेश जारी गरेको थियो।
सर्वोच्चले उनको मुद्दाको अनुसन्धान सकिएको भए अदालतमा दर्ता गर्न र अनुसन्धान नसकिएको अवस्थामा भने हिरासतबाट छाडेर कानुन बमोजिम जे–जस्तो कारबाही गर्नुपर्ने हो, त्यसलाई अघि बढाउन स्पष्ट आदेश दिएको थियो। सोही आदेशको पृष्ठभूमिमा अनुसन्धान प्रक्रिया पूरा गरी सोमबार पर्सा अदालतमा मुद्दा दायर गरिएको हो।