काठमाडौँ। कोशी टप्पु वन्यजन्तु आरक्ष पछिल्लो समय आन्तरिक तथा विदेशी पर्यटकहरूको रोजाइमा पर्न थालेको छ। आर्थिक वर्ष २०८१–८२ मा मात्रै ११ हजार ६०३ पर्यटकले आरक्ष भ्रमण गरेको आरक्ष कार्यालयले जनाएको छ।
आरक्ष प्रमुख एवं वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादव का अनुसार भ्रमण गर्नेमध्ये अधिकांश आन्तरिक पर्यटक रहेका छन् भने सार्क मुलुक र अन्य देशबाट पनि उल्लेख्य संख्यामा विदेशी पर्यटक आएका छन्। प्राकृतिक सौन्दर्य, जैविक विविधता र शान्त वातावरणका कारण कोशी टप्पु पर्यटकहरूको प्रमुख गन्तव्य बन्दै गएको छ। यहाँ विशेषगरी रैथाने वन्यजन्तु अर्ना (जंगली भैँसी)का लागि आरक्ष प्रसिद्ध छ।
सुनसरी र सप्तरी जिल्लाभित्र सप्तकोशी नदीले बनाएको टापु क्षेत्रमा फैलिएको यो आरक्षलाई नेपालमा अर्ना पाइने एक मात्र संरक्षित क्षेत्र मानिन्छ। साथै यहाँ घडियाल, मगरगोही, सोंस (डल्फिन) तथा विभिन्न प्रजातिका माछा पनि पाइन्छन्। चराचुरुङ्गीको उच्च विविधताका कारण कोशी टप्पुलाई “चराहरूको राजधानी” समेत भनिन्छ। १९८७ देखि यो क्षेत्र रामसार सूचीमा सूचीकृत रहेको छ। आरक्षलाई पक्षी अवलोकन, अनुसन्धान र अध्ययनका लागि महत्वपूर्ण गन्तव्यका रूपमा पनि लिइन्छ। पूर्वी भारतसँग जैविक मार्ग जोडिएको यो क्षेत्रले पूर्वी तराई–मधेसको वन, वनस्पति र जैविक विविधताको प्रतिनिधित्व गर्ने गरेको छ।