काठमाडौँ। पहिले सहरी र धनी वर्गमा मात्र देखिने भनिएका नसर्ने रोगहरू अहिले ग्रामीण क्षेत्रमा पनि तीव्र रूपमा फैलिँदै गएको पाइएको छ। दीर्घकालीन उपचार आवश्यक पर्ने यस्ता रोगहरू गाउँ–बस्तीमा समेत “भुसको आगोझैँ” फैलिरहेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले ग्रामीण क्षेत्रमा सञ्चालन गरेको स्वास्थ्य शिविरहरूमा उच्च रक्तचाप, मधुमेह, बाथ, नसा सम्बन्धी समस्या तथा पक्षघातका बिरामीहरूको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ। चिकित्सालय प्रमुख दीपक कार्की का अनुसार शिविरमा जाँच गरिएका करिब ५० जनामध्ये कम्तीमा ५ जनामा उच्च रक्तचाप र मधुमेह जस्ता समस्या देखिने गरेको छ। धेरै बिरामीले पहिले कहिल्यै जाँच नगरेको र औषधि पनि नखाएको पाइएको उनले बताए। प्रयोगशाला प्राविधिक सुमन चापागाईं का अनुसार केही बिरामीमा अत्यन्तै उच्च स्तरको सुगर देखिएको छ, जसमा ५ सयभन्दा बढी मिलिग्रामरडीएलसम्म पुगेका केस पनि भेटिएका छन्। सामान्य अवस्थामा खाना खाएपछि सुगर १४० मिलिग्रामरडीएलभन्दा कम हुनुपर्ने भए पनि धेरैमा त्योभन्दा धेरै देखिएको उनले जानकारी दिए।
डाक्टरहरूको भनाइ अनुसार समयमै उपचार नभए मधुमेहले आँखा, मुटु, मिर्गौला तथा स्नायु प्रणालीमा गम्भीर असर पुर्याउन सक्छ। त्यसैगरी ग्रामीण क्षेत्रमा उच्च रक्तचापको समस्या पनि व्यापक रूपमा देखिएको छ। कतिपय बिरामीमा १८०–१३० एमएम एचजीसम्म रक्तचाप पुगेको पाइएको चिकित्सकहरूले बताएका छन्। उच्च रक्तचापले हृदयाघात, मस्तिष्कघात र मिर्गौला फेल हुने जोखिम बढाउने भएकाले समयमै उपचार आवश्यक रहेको डा। उत्तम गैरे ले बताएका छन्। विशेषज्ञहरूका अनुसार अस्वस्थ खानपान, शारीरिक गतिविधि कमी, प्रशोधित खाना तथा पेय पदार्थको बढ्दो प्रयोग र तनाव नसर्ने रोग बढ्नुका मुख्य कारण हुन्। डाक्टर सविता भण्डारी ले यस्तो अवस्थाबाट बच्न जीवनशैली परिवर्तन, नियमित व्यायाम र सन्तुलित खानपान अत्यावश्यक रहेको बताइन्।