काठमाडौं ।पर्सामा हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान पुरा गरेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले जानकारी दिए । जेठ ४ मा प्रहरीले उनलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो।
प्रहरीले प्रसाईंविरुद्ध विद्युतीय (इलेक्टोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुर र राज्य विरुद्धको कसुरमा अभियोग दायर गर्न राय दिएको छ ।
प्रसाईँले एउटा युट्युब च्यानलसँग अन्तर्वार्ता दिँदै प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने, पूर्वमन्त्री कुलमान घिसिङ र सांसद हर्क सम्पाङलाई चलाउने ‘एउटै टिम’ भएको जिकिर गरेका छन् । हिन्दु राष्ट्र र राजतन्त्र पुनर्स्थापना गर्न तयार भए बालेन्द्र शाहको फोटो घरमा राख्ने पनि उनले उल्लेख गरेका छन् ।
त्यस्तै, सेना र प्रहरीका आईजीपी दानबहादुर कार्कीले सार्वजनिक गरेको गीतबारे पनि प्रसाईंले अश्लील टिप्पणी गरेका छन् । सर्वोच्च अदालतले प्रसाईंलाई सोमबार सम्म हिरासत मुक्त गर्न आदेश गरेको छ ।