काठमाडौँ । छिल्लो केही सातादेखि तराई–मधेसका जिल्लामा अत्यधिक गर्मी र लूका कारण जनजीवन प्रभावित बनेको छ। यस्तो अवस्थामा जिल्ला प्रशासन कार्यालय रौतहटमा सेवा लिन आउने सर्वसाधारणलाई समेत कठिनाइ हुँदै आएको थियो।
नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र तथा अन्य सिफारिसका लागि कार्यालय पुग्ने सेवाग्राहीहरू लामो समयसम्म चर्को घाममा बस्न बाध्य थिए। विशेषगरी वृद्धवृद्धा, महिला र बालबालिकालाई यो अवस्था थप कठिन बनेको थियो। नागरिकको यही समस्यालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीका लागि प्रतीक्षालयमा कुलर जडान गरेको छ। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल को निर्देशनमा गरिएको यस व्यवस्थाले कार्यालय परिसरमा शीतल वातावरण सिर्जना गरेको छ।
कुलर सञ्चालनपछि सेवाग्राहीहरूले राहत महसुस गरेका छन्। नागरिक विवेक कुमार साहले यस्तो व्यवस्थाले गर्मीमा लाममा बस्दा हुने असहजता कम भएको प्रतिक्रिया दिएका छन्। स्थानीय बासिन्दाका अनुसार मधेसका सरकारी कार्यालयमा गर्मीका समयमा सेवाग्राहीले सास्ती भोग्दै आएको अवस्थामा यस्तो पहललाई सकारात्मक र उदाहरणीय कदमका रूपमा लिइएको छ। प्रशासन स्रोतका अनुसार यो व्यवस्था प्रारम्भिक कदम मात्र हो र आगामी दिनमा सेवाग्राहीको सहजताका लागि थप सुविधाहरू विस्तार गरिने योजना रहेको छ।