काठमाडौँ । इङ्ल्यान्डको प्रिमियर लिगमा आफ्नो शक्तिशाली खेल र तीव्र गतिका कारण चर्चित नर्वेका युवा स्ट्राइकर अर्लिङ हालान्ड विश्व फुटबलका सबैभन्दा खतरनाक गोलस्कोररमध्ये एक मानिन्छन्। करिब ६ फिट ५ इन्च अग्ला हालान्ड मैदानमा ३६ किलोमिटर प्रतिघण्टासम्मको गतिमा दौडिन सक्ने क्षमताका कारण विपक्षी डिफेन्डरहरूका लागि ठूलो चुनौती बनेका छन्।
हालान्डको खेल शैली शक्ति, गति र फिनिसिङ क्षमताको अद्भुत मिश्रण हो। विपक्षी डिफेन्डरहरूलाई सजिलै छिचोल्दै गोलपोस्टसम्म पुग्ने उनको क्षमताले उनलाई ‘गोल मेसिन’ को उपमा दिलाएको छ। यसै कारण नर्वेले लामो समयपछि विश्वकपमा पुनः स्थान बनाउँदा मुख्य हाइलाइट उनै हालान्ड बनेका छन्। नर्वेले यसअघि सन् १९३८, १९९४ र १९९८ मा मात्र विश्वकप खेलेको थियो। १९९८ फ्रान्स विश्वकपमा ब्राजिललाई २–१ ले हराएर नर्वेले ऐतिहासिक सफलता हासिल गरेको थियो। तर त्यसपछि लामो समय विश्व फुटबलको ठूलो मञ्चमा नर्वे अनुपस्थित रह्यो। अहिले २८ वर्षपछि नर्वेले पुनः विश्वकपमा कमब्याक गरेको छ। विशेषज्ञहरूका अनुसार यसपालि नर्वेको रणनीति ‘काउन्टर–अट्याक’ मा आधारित हुनेछ, जहाँ मिडफिल्डर मार्टिन ओडेगार्डको पासलाई हालान्डले आफ्नो शक्ति र गतिबाट गोलमा परिणत गर्ने अपेक्षा गरिएको छ। हालान्डको व्यक्तिगत जीवन र खेल यात्रा पनि उत्तिकै रोचक छ।
इङ्ल्यान्डको लिड्समा जन्मिएका उनी नर्वेको सानो सहर ब्रिनमा हुर्किए। उनका बुबा अल्फी हालान्ड पूर्व प्रिमियर लिग डिफेन्डर हुन् भने आमा ग्राई मारिटा ब्राउट राष्ट्रिय एथलेटिक्स च्याम्पियन थिइन्। खेलकुद पृष्ठभूमि भएको परिवारबाट आएका कारण हालान्ड सानैदेखि खेलमा सक्रिय थिए। फुटबलसँगै उनी ह्यान्डबल, गल्फ र एथलेटिक्समा पनि अब्बल थिए। पाँच वर्षको उमेरमै उनले लङ जम्पमा उमेर समूहको कीर्तिमान बनाएका थिए। पछि उनी फुटबलमै पूर्ण रूपमा केन्द्रित भए। ब्रिन क्लबबाट करिअर सुरु गरेका हालान्डले मोल्डे क्लब हुँदै ओले गुनार सोल्स्यारको प्रशिक्षणमा आफ्नो स्ट्राइकर क्षमता विकास गरे। म्यानचेस्टर सिटीमा आएपछि हालान्डले प्रिमियर लिगमा कीर्तिमान गोल गर्दै क्लबलाई ट्रेबल जिताउन महत्वपूर्ण भूमिका खेले। सन् २०१९ को यू–२० विश्वकपमा होन्डुरसविरुद्ध ९ गोल गर्दै उनले विश्व कीर्तिमानसमेत बनाएका थिए।
उनको करिअरलाई विश्लेषकहरूले क्रिस्टियानो रोनाल्डो र अन्य महान खेलाडीहरूसँग तुलना गर्ने गरेका छन्। शक्ति, गति र गोल गर्ने क्षमताका कारण उनलाई ‘नर्डिक मन्स्टर’ समेत भनिन्छ। हालान्डको विश्वकप यात्रा अब नर्वेको आशा बनेको छ। फुटबल विशेषज्ञहरूका अनुसार यदि उनले आफ्नो लय कायम राखे भने नर्वेले लामो समयपछि विश्वकपमा ठूलो सफलता हासिल गर्न सक्छ। नेपालीसहित विश्वभरका फुटबल समर्थकहरू हालान्डको प्रदर्शन हेर्न उत्साहित छन्, जसले विश्व फुटबलको नयाँ युग निर्धारण गर्न सक्छ।