झापा । माइक्रो बस (हायस)मा काँक्रोभित्र लुकाएर ल्याइएको लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । झापाबाट काठमाडौंतर्फ छुटेको गरेको यात्रुवाहक माइक्रो बसबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले विशेष सूचनाका आधारमा गरेको चेकजाँचका क्रममा एक सय ग्रामभन्दा बढी खैरो हेरोइन बरामद गरेको जनाएको छ । जाँचका क्रममा काँक्रोमा प्वाल बनाई त्यसको भित्री भागमा कालो र सेतो प्लास्टिकले बेरिएका दुईवटा पोका लुकाइएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय भिमानका प्रमुख राजु केसी खत्रीका अनुसार कमलामाई नगरपालिका(९ भिमानस्थित बीपी राजमार्गमा सवारी साधन जाँच गर्ने क्रममा काक्रोमा लागुऔषध लुकाई ल्याएको खैरो हीरोइन सहित सोलुखुम्बुको दुधकुण्ड नगरपालिका २ निवासी २६ वर्षीय विक्रम श्रेष्ठ पक्राउ परेको जानकारी दिए ।
बा ४ ख ५५०० नम्बरको हायसमा सवार श्रेष्ठले बोकेको रातो रङको झोलाभित्र शंकास्पद लागेर चेक गर्दा काक्रोमा प्वाल बनाई त्यसको भित्री भागमा खैरो हेरोइन ल्याएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको पदार्थ प्रारम्भिक परीक्षणका क्रममा खैरो हेरोइन जस्तो देखिएको र मान्यता प्राप्त तराजुमा तौल गर्दा प्लास्टिकबाहेक शुद्ध तौल १०० ग्राम ४२० मिलिग्राम रहेको प्रहरीको भनाइ छ । लागुऔषध तस्करीमा नयाँ शैली अपनाउँदै दैनिक उपभोग्य वस्तुभित्र लुकाएर ओसारपसार गर्ने प्रवृत्ति बढ्दै गएको प्रहरीको भनाई छ ।