काठमाडौँ । बिक्रम तिमल्सिनाले नेपाल विकासमा पछि पर्नुको मुख्य कारण स्रोतसाधनको कमी नभई उपलब्ध सम्भावना र सम्पदाको उचित उपयोग गर्न नसक्नु भएको बताएका छन्।
काठमाडौंमा आयोजित चलचित्र ‘एलिफेन्स अफ फग’ टोलीलाई स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले नेपालको मौलिक संस्कृति, प्राकृतिक सुन्दरता, विविध पहिचान र सांस्कृतिक सम्पदाले विश्वमा नेपाललाई चिनाइरहेको उल्लेख गरे। तर ती सम्पदालाई प्रभावकारी रूपमा उपयोग गरी मूल्य सिर्जना गर्न नसक्दा देश अपेक्षित रूपमा अघि बढ्न नसकेको उनको भनाइ थियो। उनले नेपालसँग पर्याप्त सम्भावना हुँदाहुँदै पनि त्यसलाई सही ढंगले व्यवस्थापन र प्रवर्द्धन गर्न नसक्नु नै पछाडि पर्नुको मुख्य कारण भएको बताए। मन्त्री तिमल्सिनाले नेपाली कला र चलचित्र क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा पाएको सफलता देशकै गौरवको विषय भएको पनि उल्लेख गरे। नेपाली फिल्म कुहिराका हात्तीले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सम्मान प्राप्त गर्नु सम्पूर्ण नेपालीका लागि खुसी र गर्वको कुरा भएको उनले बताए। साथै, उनले प्रतिष्ठित ‘१९ क्याज फिल्म फेस्टिभल’ मा अवार्ड जितेर फर्किएको चलचित्र टोलीलाई बधाई दिँदै नेपाली सिर्जनाले विश्वस्तरमा पहिचान बनाइरहेको बताए।