धनगढी । नवजीवन सहकारी संस्थाको अध्यक्षमा गोपालराज पाठक निर्वाचित भएका छन् ।
निकटतम् प्रतिद्वन्द्वी केशवराज मिश्रको प्यानललाई क्लिन स्वीप गर्दै पाठक ३ सय १५ मतान्तरसहित विजयी भएका हुन् ।
निर्वाचन समितिका अनुसार पाठकले ४ हजार ७ सय ८४ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी मिश्रले ४ हजार ४ सय ६९ मत पाएका छन् । अध्यक्षका अर्का उम्मेदवार घनबहादुर शाहले ३ हजार ६ सय ४४ मत प्राप्त गरेका छन् ।
निर्वाचनमा पाठक, मिश्र र शाह प्यानलसहित प्रतिस्पर्धामा थिए । मिश्र प्यानल पूर्ण रूपमा पराजित भएको छ भने शाह प्यानलबाट एक सदस्य मात्र विजयी भएका छन् ।
अन्य अधिकांश पदमा पनि पाठक प्यानलकै उम्मेदवार विजयी भएका छन् । उपाध्यक्षमा उत्तम जोशी ४ हजार ३ सय ३ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी ईश्वरप्रसाद जोशीले ३ हजार ९ सय ४ तथा उपेन्द्र विष्टले ३ हजार १ सय ९५ मत प्राप्त गरेका छन् ।
लेखा सुपरिवेक्षण समितिको संयोजकमा गणेशप्रसाद जोशी ५ हजार १ सय ७२ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी चेतराज जोशीले ५ हजार ३३ मत पाएका छन् । समितिको सदस्यमा खेमराज पाठक (६,०४३) र गणेशप्रसाद पाध्याय (४,५५९) विजयी भएका छन् ।
कार्यसमितिका ७ सदस्य पदमध्ये ४ जना पाठक प्यानलबाट निर्वाचित भएका छन् भने २ स्वतन्त्र र १ जना शाह प्यानलबाट विजयी भएका छन् । सदस्यमा स्वतन्त्र उम्मेदवार केशवराज जोशी सर्वाधिक ५ हजार १ सय ४३ मतसहित विजयी भएका छन् ।
यस्तै, कोपिला कुँवर (४,११२), गणेश बम (३,४२६), जयराज जोशी (३,२८०) र लक्ष्मीराज पन्त (३,२७६) निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार खेमराज पाण्डेय (३,१३२) तथा शाह प्यानलका दीर्घबहादुर शाह (३,११८) पनि सदस्यमा विजयी भएका छन् ।
धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्था देशकै अग्रणी सहकारी संस्थामध्ये एक मानिन्छ । कुल ४० हजार ८ सय १४ शेयर सदस्य रहेको सहकारीको शनिबार सम्पन्न निर्वाचनमा १५ हजार २ सय ४१ मत खसेको थियो ।