विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले लागूऔषध दुव्र्यसनमुक्त समाज निर्माण गर्ने साझा उद्देश्यका साथ ‘लागूऔषध विरुद्धको महाअभियान २०८३’ को सुरुवात गरेको छ । आइतबार विराटनगरमा दुई चरणमा आयोजित विशेष कार्यक्रमहरूका बीच प्रदेश सरकार, सुरक्षा निकाय, जनप्रतिनिधि र नागरिक समाजको ऐक्यबद्धतामा यो अभियानको घोषणा गरिएको हो ।
अभियानको पहिलो चरण अन्तर्गत बिहान विराटनगरको महेन्द्र चोकबाट सचेतनामूलक प्लेकार्डसहित एक विशाल प्रभातफेरी निकालिएको थियो । प्रतिनिधि सभाकी माननीय सांसद आशा झाले रिबन काटेर शुभारम्भ गर्नुभएको उक्त प्रभातफेरी जलजला चोक र गोल्छामोड हुँदै रंगशाला पुगेर पहिलो चरणको सभामा परिणत भएको थियो । ¥यालीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सरकारी कार्यालयका प्रतिनिधि, विभिन्न संघ–संस्था, सञ्चारकर्मी, स्काउट, विद्यार्थी, युवा तथा स्थानीय नागरिकको स्वतःस्फूर्त सहभागिता थियो ।
महानगरपालिका–४ स्थित होटल मनास्लु इनमा आयोजित दोस्रो चरणको मुख्य समारोहमा कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पानसमा दीप प्रज्वलन गरी महाअभियानको विधिवत उद्घाटन गरेका थिए ।। सो अवसरमा लागूऔषधको दुव्र्यसनले पार्ने प्रभावबारे ’अन्धकारबाट उज्यालोतर्फ’ शीर्षकको सचेतनामूलक नाटक, साङ्गीतिक प्रस्तुति र पूर्व लागूऔषध प्रयोगकर्ता कपिलदेव आचार्यको अनुभव समेटिएको वृत्तचित्र प्रदर्शन गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा मुख्यमन्त्री, प्रहरी महानिरीक्षक, विशिष्ट अतिथिहरू तथा नागरिक समाजका प्रतिनिधिहरूले लागूऔषध नियन्त्रणका लागि तयार पारिएको ९ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै ऐक्यबद्धता जनाएका थिए ।