काठमाडौँ । सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक अध्ययन गर्न समिति गठन गरेको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल को अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय गरेको हो । नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा गठन गरिएको समितिले सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्नेछ । समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन मन्त्रालय तथा कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारका प्रतिनिधिहरू सदस्य रहने व्यवस्था गरिएको छ । त्यसैगरी नापी विभागका निर्देशकलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ । बैठकमा विभिन्न मन्त्रालयका सचिव तथा उच्च अधिकारीहरूको सहभागिता रहेको थियो । बैठकले सीमा विवाद समाधानका लागि आवश्यक अध्ययन अघि बढाउने निष्कर्ष निकालेको छ ।