काठमाडौँ । तोसिमा कार्की ले सुर्तीजन्य पदार्थमा लाग्ने कर कम्तीमा ५० प्रतिशतसम्म बढाउनुपर्ने प्रस्ताव राखेकी छन् । आइतबार आयोजित सार्वजनिक स्वास्थ्य करसम्बन्धी कार्यक्रममा बोल्दै उनले जनस्वास्थ्य सुधार र स्वास्थ्य बीमालाई दीगो बनाउन सुर्तीजन्य पदार्थमा उच्च कर नीति आवश्यक रहेको बताइन् ।
उनले हाल भइरहेको ३ देखि ५ प्रतिशतसम्मको सामान्य कर वृद्धिले उपभोक्ताको बानीमा खासै परिवर्तन नआउने उल्लेख गर्दै प्रभावकारी रूपमा उपभोग घटाउन ठूलो दरमा कर वृद्धि गर्नुपर्ने धारणा राखिन् । सांसद कार्कीका अनुसार दक्षिण एसियाली मुलुकहरूको तुलनामा नेपालमा सुर्तीजन्य पदार्थमा कम कर लागिरहेको छ । अहिले नेपालमा करिब ४१ प्रतिशत मात्रै कर रहेको भन्दै उनले यसलाई बढाउनुपर्ने आवश्यकता औंल्याइन् ।
उनले सुर्तीजन्य पदार्थका कारण क्यान्सर मात्र नभई रक्तनलीसम्बन्धी गम्भीर रोग समेत बढिरहेको बताइन् । यसले नागरिकको उत्पादकत्व घटाउनुका साथै राज्यलाई थप आर्थिक भार पर्ने उनको भनाइ थियो । विशेषगरी युवा र न्यून आय भएका वर्गमा सुर्तीजन्य पदार्थको प्रयोग घटाउन कर वृद्धि प्रभावकारी हुने उनले बताइन् । साथै, सुर्ती, मदिरा र अन्य हानिकारक पेय पदार्थबाट उठेको राजस्व स्वास्थ्य बीमामा लगानी गर्नुपर्ने प्रस्ताव समेत उनले अघि सारिन् । सांसद कार्कीले धूम्रपानबाट निस्कने धुवाँले बालबालिका, गर्भवती महिला र दीर्घरोगीहरूमा बढी असर गर्ने भएकाले ‘प्यासिभ स्मोकिङ’ नियन्त्रणमा पनि राज्यले ध्यान दिनुपर्ने बताइन् ।