काठमाडौँ । जात व्यवस्थाले समाजमा निम्त्याएको तहगत उत्पीडन, शृङ्खलाबद्ध हत्या र ऐतिहासिक थिचोमिचोका विरुद्ध काठमाडौँको माइतीघर मण्डलामा प्रतिरोधात्मक प्रदर्शन गरिएको छ । जात व्यवस्था उन्मूलन मोर्चा नेपाल प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिको मुख्य संयोजनमा आयोजना गरिएको उक्त विरोध र्याालीमा देशैभरबाट दलित तथा उत्पीडित नागरिक, बौद्धिक समुदाय, नागरिक समाज र मानवअधिकारकर्मीहरूको व्यापक सहभागिता रहेको थियो । आजभन्दा ६ वर्षपहिले अन्तरजातीय प्रेम विवाहको निहुँमा रुकुम सोतीमा निर्मम र अमानवीय रूपमा मारिएका नवराज विक लगायत ६ जना युवाको सम्मान र न्यायको ढोका ढकढक्याउन यो ऐतिहासिक विद्रोह दिवस मनाउँदै सडक प्रतिरोध सुरु गरिएको आयोजकले जनाएका छन् ।
र्याालीमा सहभागी युवा तथा अधिकारकर्मीहरूले अन्तरजातीय प्रेमकै कारण दलित भएकै आधारमा नागरिकले ज्यान फाल्नुपर्ने यो देश कस्तो गणतन्त्र हो भन्दै राज्यको विभेदकारी संयन्त्र र सामाजिक चेतनाप्रति कडा आक्रोश पोखेका छन् । प्रदर्शनकारीहरूले “हाम्रो श्रम चल्ने, रगत र पसिना चल्ने तर हाम्रा छोराछोरीले एकअर्कालाई मन पराउँदा कुटी–कुटी खोलामा बगाइने ?“ भन्दै यस्तो बर्बर जातिवादी मानसिकता र प्रथाको अन्त्य नभएसम्म देशमा आएको लोकतन्त्र अधुरो रहने जिकिर गरे । माइतीघरको सडकमा विभिन्न प्लेकार्ड, ब्यानर र नारासहित उत्रिएका प्रदर्शनकारीहरूले उत्पीडित समुदायको हकअधिकार सुनिश्चित गर्न राज्यसँग सामरिक र नीतिगत मागहरू समेत प्रस्तुत गरेका छन् ।
आन्दोलनकारीहरूले भूमिहीन दलितहरूलाई तत्काल खेतीयोग्य जमिनको व्यवस्था गर्न, दलित विद्यार्थीका निम्ति प्राथमिकदेखि उच्च शिक्षासम्म छात्रवृत्तिसहित पूर्ण निःशुल्क शिक्षा सुनिश्चित गर्न र रुकुम सोती लगायतका विभिन्न दलित हत्याकाण्डहरूको निष्पक्ष न्यायिक छानबिनका लागि एक ’उच्चस्तरीय स्वतन्त्र आयोग’ गठन गर्न सरकारसँग जोडदार माग गरेका छन् । जात व्यवस्थालाई समूल नष्ट नगरेसम्म र उत्पीडित नागरिकले आत्मसम्मानसहित समान न्याय नपाएसम्म यो विद्रोह र सडक संघर्षको बिगुल निरन्तर बजिरहने चेतावनी समेत आन्दोलन सम्बद्ध नेताहरूले दिएका छन् ।