काठमाडौँ । नेपाली पर्वतारोही, फिल्ममेकर तथा हिमाली कथाकार सेन्साई पेमा वाइबा ले विश्वको सर्वोच्च शिखर सगरमाथा तेस्रो पटक सफलतापूर्वक आरोहण गरेका छन् । उनले जेठ ९ गते बिहान ७ः४२ बजे सगरमाथाको चुचुरोमा पुग्दै नयाँ सफलता हासिल गरेका हुन् ।
सिन्धुपाल्चोकको दुर्गम भोटाङ गाउँमा जन्मिएका वाइबा हिमाल, चलचित्र र दृश्य कथामार्फत हिमाली जीवनलाई विश्वसामु चिनाउने युवा सर्जकका रूपमा परिचित छन् । उनले आफ्नो तेस्रो सगरमाथा आरोहणलाई संघर्ष, धैर्य, त्याग र आत्मविश्वासको प्रतीक भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सगरमाथा, मनास्लु र शिशापाङ्मा जस्ता हिमालहरूले आफूलाई जीवनका महत्वपूर्ण पाठ सिकाएको उल्लेख गरेका छन् । उनका अनुसार प्रत्येक सफल आरोहणको पछाडि खराब मौसम, जोखिमपूर्ण यात्रा, प्रार्थना र टोलीको साथ रहने गर्छ ।
वाइबाले आफ्नो सफलतामा ‘इम्याजिन नेपाल’ टोली तथा चर्चित आरोही मिङ्माजी शेर्पाको विशेष योगदान रहेको बताएका छन् । पर्वतारोहणसँगै वाइबा फिल्म निर्माण, फोटोग्राफी र ड्रोन सिनेमेटोग्राफीमा पनि सक्रिय छन् । उनले सयौं म्युजिक भिडियो, डकुमेन्ट्री तथा नेपाली चलचित्रमा काम गरिसकेका छन् । सन् २०२२ देखि औपचारिक रूपमा पर्वतारोहणमा सक्रिय वाइबाले यसअघि सगरमाथा दुई पटक, मनास्लु र शिशापाङ्मा हिमाल सफल आरोहण गरिसकेका छन् । उनी सामाजिक सेवा तथा हिमाली संस्कृतिको संरक्षणमा समेत सक्रिय मानिन्छन् ।