काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले सरकार वाचापत्रअनुसार अघि बढिरहेको बताएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ५ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा शिक्षामन्त्रीले सरकारको वाचापत्रअनुसार काम अघि बढिरहेको बताएका हुन् ।
कार्यक्रममा मन्त्रीले सरकार र पार्टीले चुनावी वाचाअनुसार पहिलो महिना, सय दिन र एक वर्षभित्र गर्ने काम क्रमशः पूरा गर्दै गएको उल्लेख गरे ।
मन्त्रीले पोखरेलले देशभरका सामुदायिक विद्यालयमा पहुँचका आधारमा स्रोतसाधन वितरण हुने प्रवृत्ति रहेको उल्लेख गर्दै यसलाई वैज्ञानिक र व्यवस्थित बनाउन सरकारले देशभरका २७ हजार विद्यालयको अध्ययन सुरु गर्ने जानकारी दिए ।
विद्यालयको भौतिक अवस्था, कक्षाकोठा, फर्निचर, खेलमैदान, शौचालयलगायत सम्पूर्ण विवरण संकलन गरी मास्टर प्लान तयार पारिने उनको भनाइ छ ।
उनले विश्वविद्यालय क्षेत्रमा बढ्दो राजनीतिकरण अन्त्य गरी प्राज्ञिक प्रणाली विकास गर्न खुला प्रतिस्पर्धामार्फत उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
आठ वटा विश्वविद्यालयमा खुला आवेदन माग्दा २ सय १८ जनाको आवेदन परेको भन्दै यसले सरकारको निष्पक्षताप्रति विश्वास बढेको दाबी गरे ।
कार्यक्रममा मन्त्रीले निजी विद्यालयको शुल्क, दरबन्दी मिलान, सुकुम्वासी बस्तीका विद्यार्थीको शिक्षा, स्थानीय पाठ्यक्रम, सार्वजनिक यातायात, विदेशी विश्वविद्यालयका कलेज नियमनलगायत विषयमा उठेका गुनासाहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।