काठमाडौँ । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत बनाउन र सीमापार हुने आपराधिक गतिविधि नियन्त्रण गर्न दुवै देशका सुरक्षा अधिकारीहरूबीच उच्चस्तरीय बैठक सम्पन्न भएको छ ।
भारतको विहारस्थित सीतामढी समाहरणालयको विमर्श सभाकक्षमा बसेको ‘इन्डो–नेपाल बोर्डर डिष्ट्रीक्ट समन्वय समिति’ को बैठकमा सीमा सुरक्षा सुदृढीकरण र आपसी समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको हो । बैठकमा जाली नोट कारोबार, अवैध हतियार ओसारपसार, लागूऔषध तस्करी, मदिरा तथा सुर्तीजन्य पदार्थको अवैध व्यापार नियन्त्रणका लागि संयुक्त रणनीति अपनाउने विषयमा विशेष जोड दिइएको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए ।
दुवै देशका सुरक्षा अधिकारीहरूले मोस्ट वान्टेड अपराधीहरूको खोजी, शंकास्पद व्यक्तिहरूको आवतजावत रोकथाम, सूचना आदान–प्रदानलाई प्रभावकारी बनाउने तथा संयुक्त सुरक्षा अभियान सञ्चालन गर्ने सहमति गरेका छन् । यसैगरी मानव बेचबिखन, सीमा अतिक्रमण, सीमा स्तम्भ बोर्डर पिलरको सुरक्षा र नो–म्यान्स ल्याण्डको संरक्षण जस्ता विषयमा पनि विस्तृत छलफल भएको थियो । सीमावर्ती क्षेत्रमा शान्ति, सुरक्षा र आपसी विश्वास कायम राख्न सुरक्षा निकायहरूलाई थप सतर्क रहन निर्देशन दिइएको छ । साथै, साना घटनालाई पनि गम्भीरतापूर्वक लिएर तत्काल कारबाही अघि बढाउने सहमति समेत भएको छ ।