काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्रको सहभागिता र प्राप्त सफलता नेपालको सिर्जनशील क्षेत्रका निम्ति ऐतिहासिक कोसेढुंगा भएको बताएकी छन् ।
फ्रान्समा आयोजित कान्स फिल्म फेस्टिभलमा सहभागी भई स्वदेश फर्किएपछि उनले उक्त भ्रमण र उपलब्धिका बारेमा शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी गराएकी हुन् ।
कार्यवाहक प्रमुख डंगोलले सिर्जनशील क्षेत्रलाई व्यवस्थित र निरन्तरता दिन काठमाडौं महानगरपालिकाले आवश्यक नीति र कार्यविधि निर्माण गर्ने तयारी गरिरहेको बताइन् । कान्सका मेयरले आयोजना गरेको विशेष स्वागत कार्यक्रम र डिनरमा सहभागी हुने क्रममा काठमाडौं फिल्म फेस्टिभलका निम्ति आवश्यक प्राविधिक सहयोग र सहकार्यका विषयमा समेत छलफल भएको उनले उल्लेख गरिन् ।
यसपटकको कान्स फिल्म फेस्टिभल नेपाली सिनेजगत्का निम्ति विशेष रहेको उनले सुनाइन् । डंगोलले इतिहासमै पहिलोपटक नेपाली फिल्म ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट हुनु गौरवको विषय भएको बताइन् । उक्त विधामा निर्देशक अविनाशविक्रम शाहको टिमले निर्माण गरेको चलचित्रले जुरी प्राइज जित्न सफल भएकोमा उनले बधाई ज्ञापन गरिन् ।
“...फिल्म प्रदर्शनपछि हलमा उपस्थित दर्शकहरूले करिब सात–आठ मिनेटसम्म उभिएर सम्मान दिएका थिए । यो क्षण सम्पूर्ण नेपालीका लागि भावुक र गर्बिलो थियो,” उनले भनिन्, “अन्तर्राष्ट्रिय मञ्चमा नेपालीले मन मात्र नभई उपाधि पनि जित्नु ठूलो उपलब्धि हो ।”
कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा डंगोलले नेपालको मौलिक पहिचान झल्कने ‘हाकु पटासी’ र परम्परागत गरगहना पहिरिएकी थिइन् । कार्यवाहक प्रमुख डंगोलले यो भ्रमणबाट काठमाडौंलाई ‘क्रिएटिभ सिटी’का रूपमा विश्वसामु चिनाउन र अन्तर्राष्ट्रिय सहरहरूसँग सहकार्यको ढोका खोल्न मद्दत पुगेको विश्वास व्यक्त गरिन् ।