काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहर (लु)सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि सार्वजनिक अनुरोध गरेको छ ।
विभागले देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार शुक्रबार साँझ जारी बुलेटिनमा आगामी ३ दिन पनि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सो भन्दा बढी रहने तथा थोरै स्थानमा ४० डिग्री सेल्सियस वा सो भन्दा बढी भई अत्याधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।
विभागका मौसमविद् सञ्जिव अधिकारीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागहरूमा आगामी ३ दिनसम्म मध्यम तातो लहर तथा पहाडी भूभागमा तातो दिन हुने सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विशेष बुलेटिनमार्फत अनुरोध गरिएको बताए ।
उनका अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग तथा लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा जेठ ६ गतेदेखि नै अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि मापन गरिएको छ ।
विभागका अनुसार सतर्कता अपनाउनुपर्ने जिल्लाहरुमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् भने अध्यावधिक गर्नुपर्ने जिल्लाहरुमा बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तु रहेका छन् ।