काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेल र तीन दिने औपचारिक नेपाल भ्रमणमा रहेकी बेलायती मन्त्री सीमा मल्होत्राबीच सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ। समानता एवं इन्डो–प्यासिफिक मामिला हेर्ने बेलायती मन्त्री मल्होत्रा शुक्रबार बिहान मात्रै काठमाडौं आएकी थिईन् । भेटवार्ताका क्रममा नेपाल र बेलायतबीचको दुई शताब्दी लामो ऐतिहासिक कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै विशेष गरी शिक्षा र खेलकुदको क्षेत्रमा रणनीतिक सहकार्य विस्तार गर्ने विषयमा गहन छलफल भएको मन्त्रालयले जनाएको छ। दुई देशबीच शिक्षा क्षेत्रको जग मजबुत बनाउन भइरहेका विद्यमान साझेदारी कार्यक्रमहरूको समीक्षा गर्दै आगामी दिनमा संघीयताको मर्म अनुरूप सहकार्यका नयाँ क्षेत्रहरू पहिल्याउने विषयमा दुवै मन्त्रीबीच सकारात्मक विचार आदानप्रदान भएको छ।
भेटका क्रममा नेपाल सरकारले देशका सातै प्रदेशमा सञ्चालन गर्ने महत्त्वाक्षी लक्ष्य राखेको ‘अटिजम स्कुल’ को अवधारणा र यसको व्यावहारिक कार्यान्वयनको खाकाबारे महत्त्वपूर्ण परामर्श भएको थियो। मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्र सुधारका लागि मन्त्रालयले अघि सारेका प्राथमिकता र कार्ययोजनाबारे बेलायती प्रतिनिधिमण्डललाई जानकारी गराउँदै नेपालमा शिक्षाको पुनर्संरचनामा ‘प्याराडाइम सिफ्ट’ (युगान्तकारी परिवर्तन) आवश्यक रहेको उल्लेख गरेका थिए । उनले अपाङ्गता भएका तथा विशेष गरी अटिजम भएका बालबालिकाका लागि विशिष्ट शिक्षण प्रणाली, गुणस्तरीय शिक्षा र उपयुक्त वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै यसका लागि बेलायत सरकारसँग प्राविधिक सहयोग, स्रोत व्यवस्थापन र दक्ष जनशक्ति विकासमा साझेदारीको आग्रह गरेका थिए ।
प्रत्युत्तरमा बेलायती मन्त्री मल्होत्राले नेपाल–बेलायतबीचको पारस्परिक हितका विषयमा चर्चा गर्दै आगामी दिनमा यो द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र परिणाममुखी बनाउनुपर्नेमा जोड दिएकी थिईन् । बेलायतको नयाँ सरकारले पनि आफ्नो देशमा शिक्षा क्षेत्रमा आधुनिक र वैज्ञानिक सुधारका कार्यक्रमहरू अघि बढाइरहेको जानकारी दिँदै उनले नेपालजस्ता पुराना मित्रराष्ट्रहरूको शैक्षिक विकासमा थप लगानी र साझेदारी विस्तार गर्ने लन्डनको योजना रहेको बताइन । मन्त्री मल्होत्राले नेपालको उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न र यहाँ बेलायती स्तरका उत्कृष्ट शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न नेपालका विश्वविद्यालयहरूसँग प्रत्यक्ष सहकार्य गर्ने नयाँ प्रस्ताव समेत राखिन्, जसले नेपाली विद्यार्थीहरूलाई स्वदेशमै विश्वस्तरीय शिक्षा पाउने वातावरण बन्ने विश्वास गरिएको छ।