काठमाडौँ । दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकहरूमा अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरहरूमा बन्धक बनाई ठगीमा पारिएका थप ७१ जना नेपाली नागरिकको सफलतापूर्वक उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले यसअघि सो क्षेत्रबाट ६ सय १६ जनाको उद्धार भइसकेकोमा पछिल्लो समय थप ७१ जनालाई सकुशल उद्धार गरिएको र बाँकी रहेका अन्य नेपालीहरूको समेत उद्धार कार्य निरन्तर जारी रहेको जानकारी दिए ।
मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म कम्बोडियाबाट ५ सय ६२, म्यानमारबाट १ सय ११, लाओसबाट ८ र थाइल्याण्डबाट ६ जना नेपाली नागरिकलाई सुरक्षित रूपमा नेपाल फर्काइएको छ। यसैबीच, बैङ्ककस्थित नेपाली दूतावासको विशेष अनुरोधमा कम्बोडिया सरकारले हालसम्म १ सय २ जना नेपालीको अध्यागमन जरिवाना मिनाहा गरिसकेको छ भने थप १७२ जनाको जरिवाना मिनाहाका लागि परराष्ट्रले कूटनीतिक अनुरोध पठाएको छ। यद्यपि, कम्बोडियामा अझै २९ जना नेपालीहरू सङ्गठित अपराध, यातना तथा मानव तस्करी लगायतका गम्भीर आरोपमा थुनामा रहेकाले उनीहरूको शीघ्र रिहाई र उद्धारका लागि कूटनीतिक पहल भइरहेको प्रवक्ता पौडेलले जानकारी दिएका छन् ।
पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले पश्चिम एसिया (मध्यपूर्व) मा विकास भइरहेका हालैका सुरक्षा चुनौतीहरूका माझ त्यहाँ रहेका नेपाली नागरिकहरूको अवस्था सामान्य रहेको र उनीहरूको सुरक्षाका लागि सरकार पूर्ण रूपमा गम्भीर र सचेत रहेको बताए । यसै सन्दर्भमा, इरानको बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली नागरिक अमृत झाको निष्पक्ष कानुनी सुनुवाइ र रिहाईका लागीसमेत नेपाल सरकारले निरन्तर कूटनीतिक संवाद अगाडि बढाइरहेको मन्त्रालयले जनाएको छ। अर्कोतर्फ, विगत केही समयदेखि नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको अवरोध र नेपाली व्यवसायीहरूले भोग्नुपरेको समस्या दुई देशबीचको उच्चस्तरीय छलफलका माध्यमबाट समाधानतर्फ उन्मुख भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार दुईपक्षीय पहलपछि भारतीय टी बोर्डले आफ्नो पूर्व–निर्देशिका संशोधन गरेसँगै नेपाली चिया निकासीको विद्यमान समस्या हाललाई सहज बनेको छ।