काठमाडौँ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले मन्त्रालयले पहुँच र प्रभावका आधारमा दिइने सबै प्रकारका अनुदान खारेज गरिएको बताएकी छन्।
शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उनले यस्तो निर्णय गरिएको जानकारी दिएकी हुन्। मन्त्री बादीका अनुसार विगतमा पहुँच र प्रभावका आधारमा केही संस्थालाई अनुदान दिइने अभ्यास रहे पनि त्यसलाई पूर्ण रूपमा अन्त्य गरिएको छ। अबदेखि न्याय, आवश्यकता र प्रभावकारिताका आधारमा मात्रै बजेट विनियोजन गरिने उनले स्पष्ट पारेकी छन्। उनले मन्त्रालयसँग स्रोत र साधनको सीमितता रहेको उल्लेख गर्दै त्यसकै कारण अपेक्षित नतिजा हासिल गर्न चुनौती रहेको पनि बताइन्। मन्त्री बादीले सामाजिक सुरक्षा तथा लक्षित समूहका कार्यक्रमहरूलाई अझ पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले यो निर्णय गरिएको बताएकी छन्।