काठमाडौँ। कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी र नेपालका लागि स्पेनका गैरआवासीय राजदूत व्हुवाँ आन्तोनियो मार्च पुहोल बीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ।
मन्त्रालयमा भएको भेटका क्रममा कृषि आधुनिकीकरण, डिजिटल कृषि प्रणाली, जल व्यवस्थापन, गुणस्तरीय उत्पादन तथा जलवायु अनुकूल कृषि प्रणालीका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। भेटमा राजदूत पुहोलले कृषि क्षेत्रमा लगानी, प्रविधि आदानप्रदान र ट्रेसबिलिटी प्रणालीमा स्पेन सहकार्य गर्न इच्छुक रहेको बताएका थिए। उनले स्पेनमा विकसित जैतुन तेल, वाइन तथा सिट्रस खेतीका अनुभवबारे पनि जानकारी गराएका थिए।
त्यस्तै, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफएओको सन् २०२७ मा हुने महानिर्देशक निर्वाचनमा नेपाल सरकारको सहयोग अपेक्षा गरिएको विषय पनि भेटवार्तामा उठाइएको थियो। मन्त्री चौधरीले नेपाल सरकारले कृषि डिजिटलाइजेसन, युवा सहभागिता र कृषि नवप्रवर्तनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन्। साथै, नेपालमा भौगोलिक संकेत जिआई दर्ता प्रक्रिया अघि बढाइएको र सुन्तला तथा किवी खेतीमा पाइलट कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइन्। उनले जलवायु परिवर्तनको जोखिम न्यूनीकरण र दिगो कृषि प्रणाली विकासका लागि स्पेनको अनुभवबाट नेपालले सिक्न चाहेको समेत उल्लेख गरिन्।