म्याग्दी । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक खण्डमा पर्ने कोवाङ–जोमसोम सडक निर्माणको ठेक्का सम्झौता तोडिएको छ। मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ खन्तिदेखि टुकुचे र मार्फा हुँदै जिल्ला सदरमुकाम जोमसोम बजार जोड्ने १७ किलोमिटर दूरीको यो सडक विगत नौ वर्षदेखि अलपत्र अवस्थामा थियो। बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै गैरजिम्मेवार निर्माण कम्पनीसँगको ठेक्का रद्द गरिएको आधिकारिक जानकारी गराएको हो। योजना प्रमुख तेजस्वी शर्माका अनुसार सुरुमा दुई वर्षभित्रै सम्पन्न गर्नेगरी सम्झौता भए तापनि विभिन्न समयमा सात पटकसम्म म्याद थप गर्दा पनि काम पूरा नभएपछि बाध्य भएर निर्माण कम्पनी पप्पु–गौरी पार्वती कोशी एन्ड न्यौपानेसँगको सम्झौता तोड्नुपरेको हो।
सडक योजना कार्यालयका अनुसार सातौँ पटक थपिएको म्याद गत २०८२ असोज २५ गते नै सकिएको थियो। म्याद सकिएको २०० दिन बितिसक्दा समेत कम्पनीले निर्माण कार्य सम्पन्न गर्न कुनै प्रतिबद्धता र शर्त पालनामा जिम्मेवारी नदेखाएपछि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (७) को कानुनी आधारमा टेकेर ठेक्का अन्त्य गरिएको योजना प्रमुख शर्माले स्पष्ट पार्नुभयो। हालसम्म ८५ प्रतिशत भौतिक प्रगति भएको यस कोवाङ–जोमसोम खण्डको बाँकी १५ प्रतिशत अधुरो काम पूरा गर्नका लागि अब तत्कालै नयाँ ठेक्का प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ। साथै, लापरवाही गर्ने निर्माण कम्पनीलाई ठेक्का सम्झौता तोड्नुअघि कुल ठेक्का सम्झौता लागतको ०.०५ प्रतिशत हुनेगरी जरिवाना रकम समेत कायम गरिएको छ।
वि.सं. २०६४ सालमा पहिलो पटक मार्ग (ट्र्याक) खुलेको यस सडकलाई फराकिलो बनाउने, पर्खाल तथा नाली निर्माण गर्ने र ११ मिटर चौडाइका दरले अक्सफाल्ट प्रविधिको कालोपत्र तथा ढलान गर्नका लागि २०७४ साल जेठ ९ गते उक्त कम्पनीसँग ७० करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरलानाका जोड्ने २०२ किलोमिटर दूरीको यस रणनीतिक सडक स्तरोन्नतिका लागि ११ वटा खण्डमा आयोजना सञ्चालन गरिएकोमा यो कोवाङ–जोमसोम खण्ड मात्रै निर्माण कम्पनीको ढिलासुस्तीका कारण अलपत्र परेको हो। हाल थासाङ गाउँपालिकाको टुकुचेमा ४०० मिटर कालोपत्र र ३०० मिटर आरसिसी ढलान, मार्फा राजखोलाको पक्की पुलमाथि करिब १ हजार २०० मिटर कालोपत्र र जोमसोमको पुथाङ विमानस्थलदेखि नेपाली सेनाको ब्यारेकसम्म करिब ५०० मिटर सडकमा स्टक्चर र कालोपत्रको काम बाँकी छ। लामो समयसम्म सडक कालोपत्र हुन नसक्दा यस क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटक, स्थानीय बासिन्दा, सवारीसाधन र पैदलयात्रीले लामो समयदेखि सास्ती भोग्दै आएका छन्।