काठमाडौँ । अष्ट्रेलियामा रहेका नेपालीहरूले कालिकोटस्थित एक विद्यालय पुनर्निर्माणका लागि सहयोग जुटाउने उद्देश्यसहित च्यारिटी कार्यक्रम आयोजना गर्ने भएका छन्।
हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाको पहलमा कर्णाली प्रदेशको कालिकोट जिल्लास्थित खपर्मस्ता आधारभूत विद्यालय पुनर्निर्माणका लागि आगामी १ अगस्ट २०२६ मा सिड्नीको झरना फङ्सन सेन्टरमा च्यारिटी डिनर कार्यक्रम आयोजना गरिने भएको हो। ‘गिभिङ इनिसिएटिभ’ नाम दिइएको उक्त कार्यक्रमबाट संकलन हुने रकम विद्यालय भवन पुनर्निर्माणमा खर्च गरिने हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाकी अध्यक्ष सन्तोषी गौतमले जानकारी दिएकी छन्। उनले अष्ट्रेलियामा रहेका सबै नेपालीलाई कार्यक्रममा सहभागी भई सहयोग गर्न आग्रह गरेकी छन्। त्यस्तै ग्लोबल कोअर्डिनेटर डिला खरेलले विदेशमा रहेका नेपालीहरू मातृभूमिप्रति निरन्तर सहयोगमा सक्रिय रहेको उल्लेख गर्दै यो प्रयास पनि त्यही निरन्तरताको हिस्सा भएको बताएका छन्। मातृभूमिका लागि महिनामा एक पाउण्ड, एक डलर’ भन्ने नारासहित सन् १९९९ मा स्थापना भएको हेल्प नेपाल नेटवर्कले विगतदेखि नै नेपालका विभिन्न क्षेत्रमा शिक्षा, स्वास्थ्य र विपद् व्यवस्थापनका क्षेत्रमा सहयोग गर्दै आएको छ।