काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सुकुमवासी बस्ती व्यवस्थापन सम्बन्धी सरकारी कदमबारे पार्टीको औपचारिक धारणा के हो भन्ने विषयमा प्रश्न उठेको छ।
सत्तारुढ रास्वपाकी सांसद इन्दिरा राना मगरले पार्टी सभापति रबि लामिछाने लाई सोध्दै सुकुमवासी बस्ती व्यवस्थापनका नाममा भइरहेका गतिविधिबारे पार्टीको स्पष्ट धारणा आवश्यक रहेको बताएकी छन्। सिंहदरबारमा कोशी प्रदेशका सांसदहरूसँग भएको छलफलका क्रममा उनले स्थानीय तहहरूले सुकुमवासी व्यवस्थापनको नाममा मनपरी ढंगले निर्णय गरिरहेको भन्दै आपत्ति जनाइन्। उनका अनुसार, सरकारको निर्देशनको आधारमा विभिन्न स्थानीय तहले बस्ती खाली गराउने सूचना जारी गर्नु उचित नभएको र यसबारे पार्टीको स्पष्ट नीति आउनुपर्ने आवश्यकता रहेको छ। सभापति लामिछानेले कोशी प्रदेशका सांसदहरूसँग छलफलपछि अहिले मधेस प्रदेशका सांसदहरूसँग पनि छलफल जारी राखेका छन्।