काठमाडौँ । जंगली च्याउ सेवन गर्दा पाल्पामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रम्भा गाउँपालिका–५ ताहुँकी ३७ वर्षीया बालकुमारी खाम्चा र ६६ वर्षीया विनिमाया कामु मगर रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।
च्याउ खाएपछि गम्भीर बिरामी परेका उनीहरूको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। खाम्चाको बुधबार र कामुको मंगलबार मृत्यु भएको सूचना अधिकारी मधुसूदन भट्टराईले जानकारी दिएका छन्। यसैबीच, जिल्लाका विभिन्न स्थानमा जंगली च्याउ सेवनका कारण १० भन्दा बढी व्यक्ति बिरामी परेका छन्। केहीको अवस्था गम्भीर रहेको र उनीहरूको युनाइटेड मिसन अस्पताल तथा लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ। विरामी हुनेहरूमा रम्भा गाउँपालिका, तानसेन नगरपालिका र निस्दी गाउँपालिकाका बासिन्दा रहेका छन्। प्रहरीले जंगली च्याउ सेवन नगर्न सर्वसाधारणलाई सचेत गराएको छ।