काठमाडौँ। वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म लालीबजार अहिले तेस्रो सातामा प्रवेश गरेको छ। फिल्म प्रदर्शनसँगै पछिल्ला दिनमा विद्यालयहरूले आफ्ना विद्यार्थीलाई हलमै लगेर फिल्म देखाउन थालेका छन्।
काठमाडौँसहित मोफसलका केही सहरमा विद्यालयकै पहलमा विद्यार्थीलाई सामूहिक रूपमा फिल्म देखाउने क्रम बढेको हो। शिक्षाको महत्व र सामाजिक चेतनासँग जोडिएको सन्देश भएकाले विद्यालयहरूले यसलाई उपयोगी शैक्षिक गतिविधि मान्दै फिल्म प्रदर्शन गराइरहेका छन्। आमा–छोरीको कथामा आधारित यस फिल्मले शिक्षित भएपछि शोषण, अन्याय र कुप्रथाविरुद्ध आवाज उठाउन सकिने सन्देश दिन्छ। यही कारण विद्यार्थीमाझ यसको आकर्षण बढ्दै गएको देखिन्छ।
बिहीबार मात्र नेपालगञ्जस्थित सिने रोयलमा करिब ६ सय विद्यार्थीले फिल्म हेरेका थिए। सो अवसरमा कलाकारहरू विशाल देवकोटा, प्रशंसा सुवेदी र समाईरा थापा हलमै उपस्थित भएर दर्शकसँग भेटघाट गरेका थिए। निर्माण कम्पनी षट्कोण आर्ट्सका अनुसार फिल्मले प्रदर्शनको १४ दिनसम्ममा ५ करोड २५ लाख रुपैयाँ ग्रस कलेक्सन गरिसकेको छ। कम्पनीका सीईओ म्याक्स दीपेश खत्रीका अनुसार दोस्रो सातामा दर्शक संख्या अझ बढेको छ।फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा छिन्। ‘मधुवाला’ पात्रमार्फत उनले प्रस्तुत गरेको अभिनय अहिले व्यापक चर्चामा छ। फिल्म उनको चरित्र केन्द्रित भएकाले उनलाई ‘लेडी हिरो’ को रूपमा पनि चर्चा गरिएको छ। निर्देशक यम थापाको निर्देशनमा बनेको फिल्ममा रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ लगायत कलाकारहरूको अभिनय रहेको छ। विशाल देवकोटा र प्रशंसा सुवेदीले यसै फिल्ममार्फत डेब्यु गरेका हुन्।