काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले सन् २०२५ मा विश्वभरका द्वन्द्वग्रस्त क्षेत्रमा प्रत्येक १४ मिनेटमा एक जना सर्वसाधारणको मृत्यु हुने गरेको जनाएको छ।
रिपोर्टअनुसार द्वन्द्वका कारण बालबालिका तथा सर्वसाधारण नागरिकहरू आफ्ना घर, विद्यालय, कार्यस्थल र सडकमा समेत असुरक्षित बन्न बाध्य भएका छन्। विभिन्न क्षेत्रमा प्रयोग भएका विस्फोटक हतियारहरूले मानव जीवनसँगै विद्युत्, पानी आपूर्ति, विद्यालय र अस्पतालजस्ता अत्यावश्यक संरचनामा पनि ठूलो क्षति पुर्याएको जनाइएको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार नागरिकहरू प्रत्यक्ष लक्षित नभए पनि द्वन्द्वको सबैभन्दा ठूलो सिकार बनेका छन्। गत वर्ष मात्रै विभिन्न १८ क्षेत्रमा स्वास्थ्य सेवामाथि १ हजार ३५० भन्दा बढी आक्रमण भएको उल्लेख छ। सङ्गठनले द्वन्द्वका कारण खाद्य संकट गहिरिँदै गएको र करिब १४ करोड ७० लाख मानिस तीव्र खाद्य असुरक्षामा परेको पनि जनाएको छ।