काठमाडौँ । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालले खानेपानी क्षेत्रमा लाग्दै आएको २५ प्रतिशत आयकर हटाउन सरकारसँग माग गरेको छ।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महासंघले राष्ट्रिय सभाबाट पारित संकल्प प्रस्ताव तत्काल कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको हो। महासंघका अध्यक्ष खेमराज ओलीले खानेपानी क्षेत्रको सुधारका लागि आफूहरू लामो समयदेखि पहल गर्दै आएको उल्लेख गर्दै खानेपानीमा लाग्ने आयकर, कर तथा भ्याट छुटका विषयमा सरकार गम्भीर बन्नुपर्ने बताए। उनले विद्युत महसुलमा सहुलियत, नगर विकास कोषको ऋणको ब्याजदर घटाउने, आयोजना निर्माणमा जनसहभागिता रकम कम गर्ने तथा नेपालमै ब्लिचिङ पाउडर उद्योग स्थापना गर्नुपर्ने माग पनि अघि सारे।
गत वर्ष राष्ट्रिय सभाबाट पारित संकल्प प्रस्ताव कार्यान्वयनमा राजनीतिक परिवर्तन र सरकार फेरबदलका कारण ढिलाइ भएको उल्लेख गर्दै वर्तमान सरकारले त्यसलाई अघि बढाउने विश्वास व्यक्त गरे। महासंघले आफ्ना मागप्रति सरकारले सकारात्मक पहल नगरे आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएको छ। यसैबीच महासंघले आगामी जेठ ८ गते काठमाडौंको बबरमहलमा सातौं साधारणसभा आयोजना गर्ने जानकारी पनि दिएको छ।