काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले सडक दुर्घटनालाई गम्भीर राष्ट्रिय संकटका रूपमा लिएर राष्ट्रिय ट्रमा नीति आवश्यक रहेको बताएकी छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालमा सडक दुर्घटनाबाट हुने मानवीय क्षति अत्यन्तै चिन्ताजनक भए पनि राज्यको प्राथमिकतामा नपरेको टिप्पणी गरिन्। उनका अनुसार नेपालमा दैनिक औसत आठ जना सडक दुर्घटनामा ज्यान गुमाउने गरेका छन् भने वार्षिक रूपमा करिब तीन हजार जनाको मृत्यु हुने गरेको तथ्यांक छ। सांसद कार्कीले पछिल्लो १० वर्षमा मात्रै हजारौं नेपालीले सडक दुर्घटनाका कारण ज्यान गुमाएको उल्लेख गर्दै वास्तविक संख्या अझ बढी हुन सक्ने बताइन्। उनले दुर्घटनामा सबैभन्दा बढी १५ देखि ४९ वर्ष उमेर समूहका युवाहरू प्रभावित हुने भएकाले यो देशको उत्पादनशील जनशक्तिमा ठूलो क्षति भएको बताइन्। सांसद कार्कीले सडक सुरक्षा, प्रभावकारी उपचार प्रणाली र राष्ट्रिय ट्रमा नीति तत्काल निर्माण गर्न सरकारसँग आग्रह गरिन्।