काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको सक्रियतामा हुम्लाकी एक प्रसूति अवस्थाकी महिलाको हवाई उद्धार गरिएको छ।
मन्त्रालयद्वारा सञ्चालित ‘राष्ट्रिय महिला सशक्तीकरण परियोजना’ अन्तर्गतको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत ज्येष्ठ ७ गते हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर १ निवासी एक महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।
लामो समयदेखि प्रसूति व्यथा लागेकी ती महिलामा जटिल स्वास्थ्य समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्थाको सिफारिसमा थप उपचारका लागि तत्काल हवाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ। उनलाई नेपाली सेनाको विशेष हवाई साधनमार्फत सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल पु¥याइएको छ र अहिले उनको उपचार भइरहेको छ।
दुर्गम तथा हिमाली क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाहरू, जो प्रसूति मार्गको अवरोध वा अन्य जटिलताका कारण ज्यानको जोखिममा पर्छन्, उनीहरूका लागि यो हवाई उद्धार कार्यक्रम जीवनदायिनी बन्दै आएको छ। मन्त्रालयले विकट क्षेत्रका महिलाको स्वास्थ्य अधिकार सुरक्षित गर्न यो कार्यक्रमलाई प्राथमिकताका साथ निरन्तरता दिँदै आएको बताएको छ।